तलब बढी भएकाे भन्दै डाक्टरहरू विराेधमा
आफूहरुलाई दिइएको तलब सुविधा बढी भएको भन्दै क्यानडाका पाँच सयभन्दा धेरै चिकित्सकले विरोध गरेका छन् ।
चिकित्सकहरुले एक विरोधपत्रमा सामूहिक रुपमा हस्ताक्षर गर्दै आफूहरुलाई दिइएको सुविधा धेरै भएको बताएका हुन् । आफूभन्दा तल्लो तहका कर्मचारी तथा नर्सले कामअनुसार पारिश्रमिक नपाएको तर आफूहरुलाई भने आवश्यकता भन्दा धेरै तलब दिइएको उनीहरुको भनाइ छ ।
उनीहरुले बिरामीले पाउनुपर्ने सुविधा पनि नपाइरहेको अवस्थामा चिकित्सकको तलब बढ्नु आश्चर्यजनक भएको बताएका छन् । साथै उनीहरुले आफूहरुको वृद्धि गरिएको तलब कटौती गर्न पनि माग गरेका छन् ।
चिकित्सकहरुले पत्रमा भनेका छन्, ‘स्वास्थ्य क्षेत्रका श्रोतहरु सबैलाई समान रुपमा वितरण गर्ने धेरै विकल्प छन्, र तिनले आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भने तल्लो तहका कर्मचारीहरु पनि मारमा पर्ने छैनन् ।’
क्यानडामा एक जना चिकित्सकले वार्षिक २ लाख ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरेका छन् ।