एउटै विद्यालयमा दुई प्रधानाध्यापक
फलेवास, पर्वत । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् ।
कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।
एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए । विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाइ काम गराउन नसकिने भन्दै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो । पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक छन् भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक छन् ।
पौडेलले यस अगाडि नै २०६८ देखि तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गर्नुभएको थियो । उहाँमाथि आर्थिक हिसाब किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालयले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । (रासस)