कैलाली 'बोक्सीकाण्ड' काे सांसदहरूले गरे चर्को निन्दा, दोषीमाथि कार्बाहीको माग
काठमाडौं । संसदहरुले कैलालीको घोडाघोडी नगरपालिका ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको आक्रमणको चर्को निन्दा गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन्।
सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चयन भएपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै विभिन्न दलका संसदहरुले पीडकलार्इ कारवाही गर्न सरकारका नाममा रुलिङ गर्न माग गरेका हुन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले कैलाली घटनाबारे संसदमा आवाज उठाउनु पर्ने र सरकारले त्यसमा जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने बताए । सामाजिक विभेदको अन्त्य नभएसम्म विकास र समृद्धिको सपना पुरा नहुने उनको भनाई थियो।
राष्टिय जमोर्चाकी सांसद दुर्गा पौडेलले बोक्सीको आरोपमा आक्रमणमा परेकी युवतिलाई न्याय दिलाएर संसदले राम्रो कामको थालनी गर्नु पर्नेमा जोड दिइन् । उनले भनिन,’ हामी यहाँ अन्यायमा परेका जनतालाई न्याय दिन आएका हौं ।
हामी वास्तवमै जनप्रतिनिधि हौं भने बोक्सीको नाममा चरम यातना भोगेकी युवतीलाई न्याय दिएर संसदको सुरुवाती चरण नै अर्थपूर्ण बनाउनुपर्छ,’ पौडेलले भनिन्।
नेपाल मजदुर किसान पार्टाीका सांसद प्रेम सुवालले कैलाली घटनाले मुलुकभरको सामाजिक विभेद उदाङ्गो पारेको र पीडित छात्रामाथि भएको अत्याचार गर्नेलाई सरकारले तत्काल कारवाही गर्नु पर्ने बताए।
बैठकमा एमाले नेता झलनाथ खनाल, शंशाक कोइराला, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, राजेन्द्र प्रसाद लिङदेनले पनि बोल्ने मौका पाएका थिए। तर उनीहरुले भने कैलाली घटनाबारे कुनै आवाज उठाएनन्।
फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा ६ घन्टासम्म कुटपिट भएको थियो। घटनामा पीडक भनिएका स्थानीय झाँक्री रामबहादुर चौधरी पक्राउ परेका छन्। अन्य आरोपित फरार छन् । घटनाका घोडाघोडी नगरपालिकाका मेयरको ममताप्रसाद चौधरी समेत मुछिएका छन्।