विदेश

विद्यालयका प्राचार्यहरुलाई अष्ट्रेलियाली प्रधानमन्त्री यस्ताे अाग्रह

विद्यालयका प्राचार्यहरुलाई अष्ट्रेलियाली प्रधानमन्त्री यस्ताे अाग्रह

 

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन् । 

उनले देशका सबै विद्यालयका प्राचार्यहरुलाई व्यक्तिगत रुपमा नै पत्र लेखेर यस्तो आग्रह गरेकाे अष्ट्रेलियाली प्रधानमन्त्रीको कार्यालयले बताएको छ । 

प्रधानमन्त्री टर्नबुलले कुनै पनि विद्यार्थीमाथि यस्ता कुनै क्रियाकलापहरु नगर्न आग्रहगर्दै उनीहरुमाथि भइरहेका धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सघाउन पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 

यस्तै कारबाहीका कारण यहाँका एकजना १४ वर्षीय विद्यार्थीले आत्महत्या गरेको समाचार हालैमात्र सार्वजनिक भएको थियो । 

उक्त आत्महत्याका कारण आफू निकै स्तब्ध भएको भन्दै उहाँले अब देशले साना बालबालिकामाथि गर्ने यस्ता कारबाहीका विरुद्धमा कार्यक्रम नै सञ्चालन गर्ने जनाएका छन् । 

उनले विद्यालयका प्राचार्यहरुलाई लेखेको पत्रमा आगामी मार्च १६ मा विद्यालयमा हुने यस्ता धाकधम्कीपूर्ण कारबाहीविरुद्धको दिवस मनाउने तयारी सरकारले गरेको भन्दै यसमा सघाउन पनि उनले आग्रह गरे । 

गत जनवरीमा १४ वर्षीय एभरेट नामका विद्यार्थीले आत्महत्या गरेका थिए । सो घटनाले देशभर नै यस्ता क्रियाकलापहरुका विरुद्धमा सरकारले विशेष कदम चाल्नुपर्ने दबाब उत्पन्न भएको थियो । 

प्रधानमन्त्री टर्नबुलले प्राचार्यलाई लेख्नुभएको सो पत्रमा बालबालिकालाई शिक्षणका लागि अपनाउनुपर्ने अन्य विभिन्न सिर्जनात्मक विधिहरु पनि सुझाएका छन् । 

बालबालिकालाई धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सबै विद्यालय र शिक्षकलाई यी विधिहरु अपनाउन भनिएको छ । 

आगामी मार्च १६ मा मनाउन लागिएको सो दिवसमा सहभागिताका लागि देशभरिका दुई हजार ३०० विद्यालयका करिब दश लाख बालबालिकाले सहमति जनाएका बताइएको छ । 

यस्ता क्रियाकलापहरुबाट विद्यालयलाई कसरी मुक्तगर्ने भन्ने विषयमा उक्त दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी पनि दिइएको छ । 

यस्ता क्रियाकलापहरुविरुद्धको विश्व निर्माणमा उक्त दिवसले सहयोग पु¥याउने अपेक्षा अष्ट्रेलियाली सरकारले गरेको बताइएको छ । 

विशेष