नीति निर्देशन नमान्ने कर्मचारीलार्इ कारवाही गर्छु : मन्त्री केसी
५ नम्बर प्रदेशका आन्तरीक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकारको नीति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
नेकपा माओवादी केन्द्र पाल्पाले शनिबार तानसेनस्थित श्रीनगर डाँडामा आयोजना गरेको जनयुद्धका शहीदको सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले कर्मचारीतन्त्र पुरानै मानसिकतामा अल्झिरहेको हुँदा काम गर्न अप्ठेरो भएको बताएका हुन् ।
उनले सरकारी नीति र निर्देशन नमान्ने कर्मचारी कारवाहीको भागीदार हुनैपर्ने बताए। शहीदहरुको त्याग र बलिदानबाट देशमा संघीयता कार्यान्वयन भइरहेको भन्दै उनले सुशासनसहितको समृद्ध नेपाल बनाउन वर्तमान सरकार सक्रिय रहेको बताए।
जनयुद्धमा पाल्पाबाट ४२ जना शहीद भएका थिए । कार्यक्रममा जनयुद्धका क्रममा घाइते भएका तथा जेलनेल परेका १० जनालाई सम्मान गरिएको थियो ।