News समाज

बोक्सी आरोप प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा

‘भोलेबाबा’, यसकारण बोक्सी आरोपमा कुट्थे

बोक्सी आरोप प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा

कैलाली । केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्।

 

टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ। आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन्। त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन्।

 

उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए। रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन्।

 

टाढा-टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन्। भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन्।

 

उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन्। घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए।

 

‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ। विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने।

 

पीडित राधाको परिवार सुकुम्बासी हो। उनीहरूसँग अर्काको जग्गामा बनेको सानो घर मात्रै छ। राधाका बुबा लौटन र आमा जोखनीदेवी भगतले छोरीमाथि अत्याचार भएको देखेर पनि केही गर्न सकेनन्।

 

छोरीमाथिको अत्याचार हेरेर बस्न लौटन बाध्य भएका थिए। ‘तर त्यो समाजमा बचाउने मान्छे कोही नभएकाले उनको बोली नै खुलेन’, राधाका कक्षा ८ पढ्ने भाइ रोशनले भने। अधियाँ वा मजदुरी त्यो परिवारकोे दिनचर्या हो।

 

भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आफ्नो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन्। रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार-पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो।

 

उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए। पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन्।

 

भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए। देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन्।

 

त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

विशेष