सिन्धुलीमा जन्ती बाेकेकाे गाडी दुर्घटना, ५ जनाकाे अवस्था गम्भीर
सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर–६ कपिलाकोटमा जन्ती बोकेकाे गाडी दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।
मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझीको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा३ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार बेहुला इन्द्र भने सकुसल छन् ।
दुर्घटनामा ५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि सदरमुकाम सिन्धुलीमाढी पठाइएको प्रहरीले जनाएको छ ।
३५ जना जन्ती बोकेर हिँडेकाे उक्त गाडी लिग छाडेर सडकबाट करिब तीन फिट तल खेतमा खसेको छ । गाडी चालक सुमन थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्को गाडी खोजेर जन्तीहरु बेहुली लिन सुनसरी हिँडिसकेको प्रहरीले जनाएको छ ।