News मुख्य समाचार

पूर्वराजा आज रामधुनी जाँदै, सुरक्षामा शिव सेनाको साथ

पूर्वराजा आज रामधुनी जाँदै, सुरक्षामा शिव सेनाको साथ


काठमाडौं । पूर्वी नेपालको भ्रमणका लागि निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि औपचारिक रुपमा विभिन्न क्षेत्रको भ्रमण आरम्भ गर्दैछन् ।  पूर्वराजाको सुरक्षा व्यवस्थामा सहयोग गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार पूर्वराजाबाट आज सुनसरीस्थित रामधुनीको दर्शन हुनेछ ।

 

केही दिन अघि झापा पुगेका पूर्वराजा शाहले यसपटकको धार्मिक तथा सद्भावपूर्णयात्रा रामधुनीबाट गर्न लागेका हुन् । पूर्वराजाको भ्रमणको सहयोगी संगठन शिव सेनाका अध्यक्ष बस्नेतले भने, ‘मौसुफको भारत भ्रमणलगत्तै अहिले पूर्वी नेपालको भ्रमण हुन लागेको हो । हिन्दु सम्राटको यो भ्रमण मूलतः धार्मिक नै हो ।

 

र यसमा अनौपचारिक सुरक्षा व्यवस्था शिव सेना नेपालले गरेको छ ।’ हिन्दु राष्ट्र र राजसंस्था पक्षधर शिव सेना नेपाल एक राजनीतिक दल हो । उल्लेखित दुई एजेन्डामा प्रभावशाली काम गर्ने शिव सेना नेपालले विभिन्न धार्मिक तथा राजनीतिक क्रियाकलाप गर्दै आएको छ ।

 

अध्यक्ष बस्नेत भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यो हाम्रो देश शान्त र समृद्ध होस् भन्ने हो । यसका लागि राजसंस्थाले मात्रै अभिभावकत्व प्रदान गर्न सक्छ । र ९० प्रतिशत भन्दा बढी नागरिक ओमकार परिवारभित्र रहेको देशलाई विदेशी क्रिष्चियनको प्रभावमा परेर नेपालका नेताहरुले धर्म निरपेक्ष बनाए ।

 

यसकारण हामीले हिन्दूत्व चाहिन्छ भन्दै आएका हौं ।’ पूर्वराजाको पूर्वी नेपाल भ्रमणमा अध्यक्ष बस्नेतसाथमै छन् । उनले शाहको भ्रमणपछि मात्रै अन्य अभियान थाल्ने जानकारी दिए । पूर्वराजाले केही दिन अघि भारत उडिसामा शंकराचार्यसँग भेट गरेका थिए ।

 

उडिसामा जारी गाई संरक्षण अभियानलाई पनि पूर्वराजा शाहले आरम्भ गरेका थिए । नेपालमा राजसंस्था रहुञ्जेल राजाको वरपर घुमेर फाइदा उठाउनेहरु अहिले धेरैजसो लाखापाखा लागिसकेका छन् । तर शिव सेना नेपालले राजसंस्थाको एजेन्डालाई अहिलेसम्म छाडेको छैन ।

 

अध्यक्ष बस्नेत भन्छन्, ‘हाम्रो उद्देश्य अवसर पाउनु, फाइदा लुट्नु होइन । हामी राष्ट्रलाई माया गर्ने शिवका सेना हौं । पशुपतिनाथको देशमा बसेर हामीले गर्ने काम कहिले पनि स्वार्थ केन्द्रीत हुँदैन । देश र समाजका लागि हुन्छ । त्यो राजसंस्थाको स्थापनाबाट मात्रै हुन्छ ।’

 

विशेष