विदेश

दुर्घटनामा परेकाका आफन्त पनि आए, विमान दुर्घटनाबारे बुझ्न बंगलादेशका मन्त्रीको टोली काठमाडौंमा

दुर्घटनामा परेकाका आफन्त पनि आए, विमान दुर्घटनाबारे बुझ्न बंगलादेशका मन्त्रीको टोली काठमाडौंमा

काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ।

 

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो। उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

 

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए।

 

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौं आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। उनका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन्। यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए।

 

विशेष