यसरी ल्याइयाे ठूलीभेरी नदीको पानी चौरजहारी अस्पतालमा
रुकुम । रुकुमको चौरजहारीमा खानेपानीको समस्या बढेसँगै ठूलीभेरी नदीको पानी लिफ्ट प्रविधिबाट चौरजहारी अस्पतालमा ल्याइएको छ ।
अस्पतालले आफ्नै लगानीमा ठूलीभेरी नदीको पानी लिफ्ट प्रविधिबाट ल्याएको हो । रुकुम पश्चिमको चौरजहारी अस्पतालले करिव १० लाख रुपैयाँ खर्चेर बिजुलीबाट पानी तान्ने मेसिन र सरसामान खरिद गरी अस्पतालमा पानी ल्याएको हो ।
चौरजहारी अस्पताल जिल्लाकै ठूलो ५० शैयाको भएको र बिरामीको अत्याधिक चाप भएकाले पानीको समस्या देखिएको थियो । सरोकारवाला निकायले पानी आपूर्तिमा ढिलासुस्ती गरेपछि अस्पतालले आफ्नै पहलमा लिफ्ट प्रविधि जडान गरेको अस्पतालका प्रशासकीय अधिकृत डिलबहादुर गिरीले जानकारी दिए ।
रुकुममै पहिलो पटक लिफ्ट प्रविधिबाट पानी ल्याउन सफल भएपछि अहिले चौरजहारी नगरपालिकाले पनि ठूलीभेरीको पानी ल्याएर सर्वसाधारणलाई बाँड्ने तयारी गरिरहेको नगरप्रमुख विशाल शर्माले बताए ।