नवनिर्वाचित राष्ट्रपतिलाई अमेरिकाको शुभकामना
काठमाडौं, राष्ट्रपतिको सपथ ग्रहण गरे लगत्तै विद्यादेवी भण्डारीलाई अमेरिकी दूतावासले शुभकामना दिएको छ । अमेरिकी दूतावासले आफ्नो अफिसियल ट्वीटरमा ट्वीट गर्दै शुभकामना दिएको हो ।
दूतावसले राष्ट्रपति भण्डारीलाई दोस्रो कार्यकालका लागि निर्वाचित भएको बधाईका साथै सफलताको शुभकाना व्यक्त गरेको छ । 'आफ्नो दोश्रो कार्यकालको लागि नेपालको राष्ट्रपतिको गरीमामय पदमा निर्वाचित हुनुभएकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई हार्दिक बधाई तथा सम्पूर्ण नेपालीको सेवामा वहाँले जारी राख्नुभएको कामको लागि पूर्ण सफलताको शुभकामना।' ट्वीटमा उल्लेख गरिए ।
आज बुधबार राष्ट्रपति भण्डारीले ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण लिएकी थिइन् । राष्ट्रपति निवास शीतल निवासमा गरिएको एक कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ लिएकी थिइन् ।
शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए।