News अपराध सुरक्षा

व्यापारीमाथि आक्रमण बढ्दो, २ वर्षयता यसरी भए ६ गम्भीर घटना

पैसाकै कारण व्यापारीमाथि आक्रमण

व्यापारीमाथि आक्रमण बढ्दो, २ वर्षयता यसरी भए ६ गम्भीर घटना
  • मीना घोरसाइने 


काठमाडौं । नेपालमा विभिन्न व्यवायीहरुमाथि आक्रमणका घटना एकपछि अर्को बढिरहेका छन् । एउटा घटना सेलाउन नपाउँदै अर्को घटना हुन थालेकाे छ । करिब दुई वर्षयता व्यवसायीमाथि आक्रमण र हत्याका घटना तीव्र रूपमा हुने गरेको विभिन्न तथ्यांकले देखाएकाे छ ।

 

गत सोमबार राति रुपन्देहीका व्यापारी हरिश सेठियालाई लक्षित गरी गोली प्रहार भयो । संयोगले उक्त गोली उनलाई लागेन । करणी इन्टरप्राइजेजका सञ्चालक सेठिया सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्यसमेत हुन् ।

 

उनीमाथि भारतीय मोटरसाइकलमा आएका दुई व्यक्तिले आक्रमण गरेको प्रत्यक्षदर्शी बताउछन् । एकलाई प्रहरी नियन्त्रणमा लिइसकेको भए पनि एक अझै फरार छन् । पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला नौतनहवाका रामजान मुसलमान भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

कसमाथि कहिले आक्रमण ?


२०७४ पुस १२ गते देवदह नगरपालिका ढेकारमा गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षीय बसन्त पौडेलमाथि गोली प्रहार भयो । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो ।

 

यस्तै २०७४ साउन २० गते रुपन्देहीको मणिग्रामस्थित सिरिया मार्वलमा गोली प्रहार भएको थियो । दुर्गालाल भण्डारीका छोरा दीपकलाई सोध्दै मोटरसाइकलमा आएका २ मध्ये एकले ३ राउण्ड गोली हानेका थिए । दुई राउण्ड गोली प्रहार भएपनि भण्डारी बाच्न सफल भएका थिए  । दिपकलाई फोन गरेर ४० लाख मागेपछि नदिएकाले उनको हत्या भएको दाबी छ ।


 ०७३ पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष तथा व्यवसायी दुर्गा तिवारीमाथि देवदहको ढेकाबामा मोटरसाइकलमा जाँदै गर्दा गोली हानी हत्या गरियो । रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५ प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हुँदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए ।

 

देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि मोटरसाइकल चलाइरहेका तिवारीमाथि अचानक गोली चलेको थियो । गोली प्रहारबाट गम्भीर घाइत तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

 

०७४ मंसिर २१ मा सिद्धार्थनगर उद्योग बाणिज्य संघ सिद्धार्थनगका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भयो । भैरहवाको गल्लामण्डीस्थित आफ्नै घरमा साँझ मोटसाइकलमा आएका व्यक्तिबाट उनीमाथि गोली प्रहार भएको थियो ।

 

गत असोज २३ गते काठमाडौंको बानेश्वरमै उद्योग वाणिज्य संघका अध्यक्ष शरद गौचनको हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई पक्राउ गरी कारवाही गरिरहेको छ । गौचन हत्याका प्रमुख मनोज पुन मारिएपछि भने प्रमुख योजनाकार को हुन् भन्ने विषयमा चासो बढिरहेको छ ।

 

प्रहरीले गत पुसमा व्यवसायी वसन्त पौडेलको हत्यापछि मनोज पुन वा अपरिचितका नामबाट धम्कीसहित रकम माग्नेको तथ्यांक संकलन गरेको थियो । यस्ता समूह र व्यक्तिबारे गोप्य सूचना दिन व्यवसायी तथा सर्वसाधारणसित आग्रह गरेको थियो । त्यसमा ३० जनाले गुनासो टिपाएका थिए । तिनमा व्यवसायी धेरै थिए भने केही कर्मचारी र सर्वसाधारण पनि थिए ।

 

किन रोकिदैन आक्रमण ?


धेरैजसो घटनामा व्यापारी वर्गमाथि गोली प्रहार हुनुलाई आर्थिक कारणसँग मात्र जोडिँदैआएको छ । घटनाको अनुसन्धानपछि प्रहरीले पनि आर्थिक लेनदेनकै कारण घटना भएको निष्कर्ष निकाल्दै आए पनि कतिपय घटनाहरु व्यक्तिगत रिसिबीका कारण पनि घटेको हुन सक्ने आशंका गरिएको छ ।

 

हत्या र जबरजस्ती रकम असुलीमा संलग्न रहँदै आएका मनोज बुढामगर (मनोज पुन) रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा फागुन १० गते प्रहरी इकान्टरमा मारिएका थिए । एक वर्षयता रुपन्देहीमा भएका दुई हत्याका घटना र काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या पनि पुनकै योजनामा भएको प्रहरी दाबी छ ।

 

विभिन्न घटनामा संलग्न मनोज पुनको मृत्यु भइसक्दा पनि आक्रमणका घटनाहरु बढी रहेकाले व्यापारीले भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण हुन नसक्नु अहिलेको मुख्य चुनौती बनेको छ ।


विशेष गरी भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न क्षेत्रमा खुल्ला सिमानाका कारण पनि यस्ता घटनाहरुले निरन्तरता पाइरहेको जानकारहरुको बताउ छन् । त्यसका लागि नेपालको सीमा सुरक्षामा पनि कडाइ ल्याउनुपर्ने उनहरुको सुझाव छ ।

 

सरकारले सबै नागरिकलार्इ भयरहित भएर बाच्ने वातावरण बनाउन अग्रसर हुनु अपरिहार्य भएको छ ।

विशेष