गाैशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ
काठमाडौं । गुण्डा नाइके गणेश लामा बुधवार राति काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।
राति करिब सवा ९ बजेतिर गौशाला र तीलगंगाको बीचमा रहेको पशुपति भिजन होटेलनजिक गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार गोलीको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा लामासँग पेस्तोल र ६ राउण्ड गोलीका साथै खोका पनि फेला परेको छ ।
अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । लामा पशुपति भिजनमा होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए । लामा गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा 'ख'बाट नेपाली कांग्रेसको टिकटमा चुनाव लडेका थिए।
तर उनी एमालेका चन्द्र लामासँग पराजित भए । उनीविरुद्ध अकुत सम्पती कमाएको, फिरौती र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा चलेका थिए।
विजय गच्छदारको निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।