News मुख्य समाचार

न्यायालयमा ‘सर्वोच्च’ भाँडभैलो, एक दशकयता यस्ता उतारचढाव

न्यायालयमा ‘सर्वोच्च’ भाँडभैलो, एक दशकयता यस्ता उतारचढाव

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।

 

जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’बाट मकहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’

 

प्रधानन्यायाधीश पराजुलीले भने आफ्नाविरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका छन् । उनले नियमित झैं सर्वोच्चमा जाने पनि बताए । ‘म किन हट्ने ? हट्ने कुरै छैन ।

 

म सर्वोच्च जान्छु । पेसी अरूले तोक्ने भन्ने कुरा कसरी आयो ? ’ पराजुलीले भने, ‘सचिवको षड्यन्त्रपूर्वक लेखिएको पत्रका कारण पनि बिदामा बस्ने कुरा रहेन । म डटेर अन्तिमसम्मै सर्वोच्चमा रहन्छु ।’ याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छ ।

 

दशकयताका उतारचढाव

– २०६२ सालमा भ्रष्टाचार आरोप लागेपछि सर्वोच्चका दुई न्यायाधीशको राजीनामा

 

– २०६२ सालमा कार्यक्षमताको प्रश्न उठाएर सर्वोच्चका तत्कालीन न्यायाधीश परमानन्द झा (पछि उपराष्ट्रपति) सर्वोच्चबाट पुनरावेदनमा फिर्ता

 

– २०६५ सालमा न्यायाधीशविरुद्ध लाञ्छना लगाएको आरोपमा तत्कालीन बार अध्यक्ष विश्वकान्त मैनालीको लाइसेन्स रद्द, आन्दोलनपछि फिर्ता

 

– २०६९ सालमा सर्वोच्चका न्यायाधीश प्रकाश वस्तीसहित ६ न्यायाधीश अस्थायीबाटै बहिर्गमन

 

– २०७० साल भदौमा तत्कालीन पुनरावेदन अदालतमा नियुक्त १० जना न्यायाधीश शपथलगत्तै एमाले पार्टी कार्यालय प्रवेश

 

– २०७२ फागुनमा सभामुख ओनसरी घर्तीद्वारा न्यायपरिषद्बाट सर्वोच्चमा सिफारिस ११ न्यायाधीशको नाम फिर्ता

 

– २०७३ माघमा उच्च अदालतका न्यायाधीश नियुक्तिमा विभेद र राजनीतिक हस्तक्षेप भन्दै सरकारी वकिलद्वारा ‘बेन्च’ बहिष्कार

 

–२०७४ वैशाखमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग, पछि फिर्ता –२०७४ भदौमा नवराज सिलवाललाई आईजीपी बनाउने सर्वोच्चकै पूर्वनिर्णय खारेज

विशेष