आतंकवादले मानव सभ्यता र मूल्य मान्यतामा ह्रास : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सबै प्रकारका आतंककारी गतिविधिलाई मत्थर पार्न कडा कानूनी संरचनाको आवश्यकता रहेको बताएका छन्।
भारतको गुरगाउँमा आयोजित प्रति–आतंकवादसम्बन्धी चौथो सम्मेलनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आतंकवादले जनधनको नाश गर्ने मात्र नभई मानव सभ्यता र यसका मूल्यहरु नै नामेट गर्नसक्ने बताए।
आतंकवाद एक खास समाज, राष्ट्र र क्षेत्रमा सीमित नरही विश्वव्यापी समस्याका रुपमा रहिआएको र यसले हरेक सिमाना र हरेक समाजलाई एक न एक ढंगबाट प्रभाव पारिरहेको बताए।
आतंकवादको स्वरुप बदलिएको प्रसंग अघि सार्दै उनले भने ‘सुरक्षा चुनौतीसँग सामना गर्ने प्रविधि र क्षमतामा बढोत्तरी भए पनि जोखिम पनि त्यत्तिकै रहेको छ। ‘आतंकवादले समाजको प्रगति, राष्ट्रको विकास, मानवीय विशेषतामा खलल पुर्याउँछ।’
आतंकवादसँग जुध्ने नेपालको राष्ट्रिय क्षमता र तयारीबारे जानकारी दिँदै मन्त्री खतिवडाले प्रति–आतंकवादसम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धिहरुमा हस्ताक्षर गरेको र कार्यान्वयन पनि गर्दैआएको उल्लेख गरे।
भारतको गृह मन्त्रालय र हरियाणा प्रान्तीय सरकारको सहयोगमा नयाँ दिल्लीस्थित स्वतन्त्र बुद्धिजीवीहरुको संस्था इन्डियन फाउण्डेशनले यो सम्मेलन हरेक वर्ष आयोजना गर्ने गर्छ। अर्थमन्त्री खतिवडा बुधबार नै नयाँदिल्ली पुगेका थिए। रासस