१ अर्ब ५६ करोड घोटाला गरेको आरोपमा एनसीसी बैंकको संचालक समिति सदस्यसहित १३ पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ गरेको छ ।
एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु रिजाल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन् । चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो । त्यसमा एपेक्स, इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैेंक थिए ।
मर्ज प्रकृया सुरु भएपछि पनि एपेक्सले अनिमित रुपमा ऋण प्रवाह गरेको उजुरी पछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो । एपेक्सले ऋण दिंदा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई समते ऋण दिएको लगायतका अनियमितता गरेको आरोप लागेको छ ।
पक्राउ गरिएका सबैलाई सीआईबीको कार्यालय महाराजगंजमा राखिएको एसपी घनश्याम अर्यालले पुष्टी गरे ।
स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको अनुरोधमा नेपाल प्रहरीको सीआइबीले अनुशन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।