News समाज

व्यक्तिगत विवरण नराखी सिमकार्ड वितरण, अपराधी पक्रिन प्रहरीलाई समस्या

व्यक्तिगत विवरण नराखी सिमकार्ड वितरण, अपराधी पक्रिन प्रहरीलाई समस्या

सुर्खेत । अवैध रुपमा लिइएका मोबाइलको सिमकार्डका कारण सुरक्षा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

 

पछिल्लो समय परिचयपत्र विनै व्यवसायीहरुले नेपाल टेलिकमका सिमकार्डहरु विक्री गर्न थालेपछि प्रहरीलाई अनुसन्धानमासमेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाकान्त चर्तुवेदीले बताए ।

 


प्रहरीले बुधबार मात्रै वीरेन्द्रनगरको एक मोवाइल पसलबाट तीन सयबढी चालू अवस्थामा सीम बरामद गरेको थियो । नेपाल टेलिकम र व्यवसायीहरुको मिलेमत्तोमा सीमको अबैद्य कारोवार भइरहेको प्रहरीको दाबी छ ।

 


‘व्यक्तिको विवरण विनै व्यवसायीहरुले सिमकार्डहरु बेच्ने गरेको पाइएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भने, ‘यसले सुरक्षामा गम्भीर असर पार्छ ।’ एसपी चर्तुवेदीका अनुसार पछिल्लो समय फोनबाट आउने धम्कीलगायतका अपराधको अनुसन्धान गर्न समस्या भइरहेको छ । प्रहरीका अनुसार टेलिकमले गलत डाटा राखेर पनि सीम कार्डहरु दिने गरेको पाइएको छ ।

 


प्रहरीका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा हजारौंका संख्यामा अवैध सिमकार्डहरुको प्रयोग भइरहेको छ ।

 


‘टेलिकमका कर्मचारीको मिलेमत्तोमा व्यवसायीहरुले व्यक्तिगत विवरण संकलन नगरेरै सिमकार्डहरु विक्री गरिरहेका छन्’ उनले भने, ‘एउटै व्यक्ति र पसलले एक हजार भन्दाबढी यस्ता सिमहरु विक्री गरेको पाइयो ।’

 


नेपाल टेलिकमले एक सय रुपियाँमा विक्री गर्ने सीम व्यवसायीहरुले एक सय ५० देखि दुई सय रुपियाँसम्म विक्री गर्ने गरेका छन् । प्रहरीले अबैध सीम विक्री गर्नेहरुमाथि कडाई शुरु गरेको छ ।

 


नेपाल टेलिकम भने डाटा इन्ट्री नगरेरै सीमहरु विक्री गर्न नपाइने बताउँछ । टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ सहायक प्रेम पाठकले व्यक्तिगत विवरण कम्प्युटरमा इन्ट्री गरेपछि मात्रै सीमहरु एक्टिभ हुने बताउँछन् । ‘नागरिकताको फोटोकपी र फोटो प्राप्त भएपछि मात्रै सीम कार्ड एक्टिभ हुन्छ’ उनले भने, ‘कसैले बदमासी गरेको पाइएका हामी कारवाही गछौं ।’

 


टेलिकमका आधिकारिक डिलरले व्यक्तिको व्यक्तिगत विवरण टेलिकममा बुझाएपछि मात्रै सीम एक्टिभ हुने गर्छ । डिलरहरुले फर्जी विवरण पेश गरेर सीम कार्डहरु एक्टिभ गरेको हुनसक्ने उनले बताए ।

विशेष