सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी, यी हुन् फाेरमले लिने मन्त्रालय
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।
राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो ।
तर, बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले फोरमलाई समेत समेटेर दुई दिनभित्रै सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेका हुन् ।
अब फोरमसँग निर्णायक वार्ता गरेर सरकार विस्तार गर्ने तयारी छ । माओवादी केन्द्रले पार्टीका तर्फबाट सहभागी हुने पाँचै मन्त्रीको नाम छनोट गरिसकेको छ । ३ फागुनमा प्रधानमन्त्री बनेका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय प्रस्ताव
एमालेले प्रधानमन्त्री कार्यालयसहित १० तथा माओवादीले ७ मन्त्रालय राखेर फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालयसँगै एक राज्यमन्त्री दिने प्रधानमन्त्री ओली र प्रचण्डबीच मोटामोटी समझदारी भएको छ ।
यो समझदारीलगत्तै फोरमसँग राजनीतिक सहमतिका लागि अन्तिम ‘निर्णायक वार्ता’ टुंग्याएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री लागेको उनीनिकट एक नेताले बताए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।