कांग्रेस नेता महतलाई बोतल हान्ने पक्राउ
नुवाकोट । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए।
साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । रासस