उपसभामुखको निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धामा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि अाज निर्वाचन हुँदै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।
उपसभामुखमा वामगठबन्धनका तर्फबाट नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भूसालबीच प्रतिस्पर्धा हुने भएको छ ।वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी तुम्बाहाम्फेको प्रस्तावक माओवादी केन्द्रका सांसद देव गुरुङ र समर्थकमा एमालेका सांसद रविन्द्र अधिकारी छन्।
यस्तै, कांग्रेसको तर्फवाट उम्मेदवार बनेकी भुषालको प्रस्तावकमा कांग्रेसकी सांसद डिला संग्रौला र समर्थकमा कांग्रेसकै सांसद देवेन्द्रराज कँडेल छन्।उपसभामुखका दुवै उम्मेदवार समानुपातिक सांसद हुन् । एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ ।
माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । दुई जनाको उम्मेदवारी परे पनि वामगठबन्धका तर्फबाट उम्मेदवार बनेकी तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत भएकाले उनी निर्वाचित हुने लगभग निश्चित छ।