News समाज

फोहोर व्यवस्थापन गर्न घरघरमै गड्यौलापालन सुरू

फोहोर व्यवस्थापन गर्न घरघरमै गड्यौलापालन सुरू

धनकुटा । फोहोर व्यवस्थापन गर्न धनकुटा नगरपालिकाले घरघरमै गड्यौलापालन अभियान सञ्चालनमा ल्याएको छ । नगरको फोहोर व्यवस्थापन गर्न तथा घरघरमा करेसाबारी र कौसी खेती प्रवर्द्धनका लागि नगरपालिकाले वातावरणमैत्री गड्यौलापालन अभियान सुरु गरेको हो ।

 

घरबाट निस्कने फोहरमैला गड्यौलालाई खुवाएर कम्पोष्ट मल बनाउन यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अभियानलाई स्थानीयले साथ दिएका छन् । धनकुटाका धेरै घरमा अहिले गड्यौलापालन गरिएको छ ।

 

फोहोरको दीर्घकालिन व्यवस्थापन गर्दै करेसा र कौसी खेती प्रवर्द्धनका लागि नगरका करिव चारसय गृहिणीलाई गड्यौलापालन तालिम र निःशुल्क बीउ गड्यौला वितरण गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

 

गड्यौला पालनले फोहरलाई स्रोतमै छुट्याउन मद्दत गर्नुका साथै ल्याण्डफिलसाइडको आयुसमेत बढाएको धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

 

९० प्रतिशत प्राङ्गारिक बस्तु र १० प्रतिशत माटो खाई सतहको मुनि बस्ने गड्यौलाले खेतीको माटोसमेत खुकुलो पार्छ । हरेक घरमा गड्यौला पालन अनिवार्य गर्न सके नगरबाट निस्कने ३७ प्रतिशत फोहोर घरमै व्यवस्थापन गर्न सकिने प्राविधिकहरुले बताएका छन् ।

विशेष