व्यवसायीलाई गोली हानेको आरोपमा भारतीय नागरिक पक्राउ
रुपन्देही । रुपन्देहीमा व्यवसायीमाथि गोली प्रहार गरेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भैरहवाका व्यवसायी हरिष सेठिया ( पिण्टु ) लाई गोली हानेको आरोपमा भारतको महाराजगञ्ज नौतनहवाका ३० वर्षीय मञ्जुर आलम पक्राउ परेका हुन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै हतियारसहित १ जनालाई पक्राउ गरिसकेको छ । भैरहवाको बैङ्क रोडमा रहेको करणी इन्टरप्राइजेजका सञ्चालक ३८ वर्षीय सेठिया पसल बन्द गरी स्कुटरमा चढेर घर गइरहेको बेला सिद्धार्थनगर – ५, सेवापथमा यही फागुन २८ गते बेलुका गोली प्रहार भएको थियो ।