अदालतबाट पाइने निशुल्क सेवाबारे सेवाग्राही नै अनभिज्ञ
म्याग्दी । म्याग्दी जिल्ला अदालतबाट निःशुल्क प्रवाह हुने सेवाबारे नागरिक अनभिज्ञ हुँदा सेवा प्रभावकारी बन्न सकेको छैन । अदातलमा कानूनी सेवा लिन आउने विपन्न असहाय सेवाग्राहीका लागि निःशुल्क कानूनी सहायता प्रदान गर्ने व्यवस्था गरिए पनि सो सेवा उपभोग गर्ने सेवाग्राही न्यून देखिएको जिल्ला अदातलले जनाएको छ ।
वार्षिक रु ४० हजारभन्दा कम आय भएका नागरिकका लागि वैतनिक वकिलमार्फत निःशुल्क कानूनी सेवा उपलब्ध गराउने व्यवस्था रहे पनि जानकारीको अभावमा उक्त सेवा लिन आउने कम देखिएका जिल्ला न्यायाधीश राजकुमार कोइरालाले बताए ।
‘‘विपन्न र असहायको लागि अदालतले निःशुल्क कानूनी सेवा उपलब्ध गराउँछ, तर यो सेवाबारे अनभिज्ञ हुँदा कतिपय नागरिक घरका वस्तुभाउ नै बचेर कबोलमार्फत हजारौँ खर्चिएर उजुरीको निवेदन लेखेको भन्ने सुनिएको छ, उनीहरुसामु अदालतको सेवाबारे जानकारी पुर्याउन आवश्यक देखियो, ’’ जिल्ला न्यायाधीश कोइरालाले भने।
यसैबीच जिल्ला अदालत म्याग्दीले विभिन्न मुद्दामा गरेका फैसलामा दोषी ठहरिएका प्रतिवादीबाट रु ७४ लाख बढी जरिवाना असुल उपर गर्न बाँकी रहेको छ ।
विसं २०६० चैत ७ गतेदेखि हालसम्म अदालतबाट भएको फैसलामा जरिवाना तिर्न ठहरिएकाबाट रु ७४ लाख ४६ हजार ८ सय २२ जरिवाना असुलउपर गर्न बाँकी रहेको हो । यसैगरी विभिन्न मुद्दामा दोषी ठहरिकाबाट ८ सय ९ वर्ष चार महिना १६ दिनको कैद सजाय असुल गर्न बाँकी रहेको अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिए ।