सडकप्रति स्थानीयकाे माेह, सडक नबनेसम्म यातायात चल्न नदिइने
जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्र जाने सडक निर्माणमा सडक विभाग र स्थानीय तहको चरम लापर्बाहीका कारण बढेको धुवाँ धुलोले सर्वसाधारणको स्वास्थ्यमा चरम खेलवाड भएको भन्दै आज बिहानैदेखि त्यस सडक आसपासका स्थानीयवासी आन्दोलित भएका छन् ।
सुनसरीकाे इटहरी उपमहानगरपालिका, रामधुनी र बराहक्षेत्र नगरपालिका क्षेत्रअन्तर्गत कान्छिचोक नडाहा खण्डको सडक केही वर्षअघि कालोपत्रे गरेको भए पनि अहिले कालोपत्रे उप्किएको र सडक विभागले निर्माणको पुनः ठेक्का लगाइसकेको भए पनि सडक निर्माणमा चरम लापर्बाही भई सडक आसपासमा बसिनसक्नु भएकाले बाध्य भएर सवारी चल्न रोक लगाएको स्थानीयवासीले बताएका छन् ।
सडकमा उड्ने धुलो धुवाँले मान्छेले पैदल हिँड्न नसक्ने तथा साना सवारी साधन समेत चढेरयात्रा गर्न कठिन हुने तथा दुर्घटना अधिक रुपमा बढेको भन्दै स्थानीयवासीले तत्काल सडकमा पानी हाली धुलो धुवाँ नउड्ने बनाउन आग्रह गर्दै सवारी सञ्चालनमा रोक लगाएको स्थानीयवासी पुष्प प्याकुरेलले बताए।
इटहरी उपमहानगरपालिका १७ तथा रामधुनी नगरपालिका ६ र ७ एवं बराहक्षेत्र नगरपालिका ४, ५ र ६ हुँदै धार्मिक तीर्थस्थलसम्म जाने उक्त सडक निर्माणकर्ता ठेकेदार कम्पनी दिवा निर्माण सेवाले समेत सर्वसाधारण मानिसको स्वास्थ्यमा खेलवाड गर्दै आएकाले आफूहरुले तत्काल सडकमा पानी प्रयोग गर्न दबाबका लागि आन्दोलन गर्नुपरेको विनोद आचार्यको भनाइ छ ।
सडक लथालिङ्ग भएको तर सवारी साधनको अधिक चाँप रहेकाले ती सवारी साधनले उडाउने धुवाँ धुलोका कारण दैनिक दुर्घटना बढेको तथा आसपासका वस्तीमा बसिनसक्नु हुने गरेकाले बाध्य भएर सवारी चलाउन रोक लगाउनु परेका अर्का स्थानीयवासी शैलेन्द्र राजधामीले बताए ।
स्थानीयवासी हेमनारायण राजधामीका अनुसार पटकपटक स्थानीय तह र सडक विभागसँग धुलो उड्ने कार्य नियन्त्रणका लागि बारम्बार भन्दा पनि अटेर गरिएकाले सवारी सञ्चालनमा रोक लगाउनुको विकल्प नरहेको उनले बताए । सडक ठेकेदारले सडकमा पानी नहालेसम्म सवारी चलाउन नदिने स्थानीयवासीको भनाइ छ ।