News राजनीति मुख्य समाचार

यसकारण सरकारमा गएन फोरम

यसकारण सरकारमा गएन फोरम

काठमाडौं । एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन ।

 

पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो ।

 

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबारसरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन् ।

 

सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरू सहमत छन् । फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् ।


पार्टी अध्यक्ष यादवले धुलिखेलमा पार्टीका सांसदलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा सरितागिरीबाहेक पार्टीका सबै सांसद छन् । संसद् बैठकमा सहभागी हुन शुक्रबार दिउँसोकाठमाडौं आएका फोरमका सबै सांसद शुक्रबार साँझ पुनः धुलिखेल फर्केका छन् । सहअध्यक्ष श्रेष्ठ भने व्यवहारिक कारण देखाएर शुक्रबार धुलिखेल गएनन् ।

 

शुक्रबार बिहानसम्म फोरमबाट आफ्नो र श्रेष्ठको नाम पठाउने तयारी गरेका यादवले श्रेष्ठको नाममा पार्टीभित्र एकमत हुन नसक्दा नाम सिफारिस गर्न हच्किएका हुन् । मन्त्रालय बाँडफाँटमा पनि प्रधानमन्त्री र यादवबीच सहमति जुट्न सकेन ।

 

यादवले भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्य मन्त्रालय मागेका छन् । तर, प्रधानमन्त्रीले फोरमलाई सहरी विकास र सिँचाइ मन्त्रालय दिन चाहेका छन् । फोरमका महासचिव रामसहाय यादवले प्रधानमन्त्री र आफ्नो पार्टीबीच शुक्रबार संविधान संशोधनमा लिखित सहमति नभएकालेसरकारमा नगएको बताए ।

 

उनले भने, ‘हामीले सुरूदेखि नै संविधान संशोधन गर्नेप्रतिबद्धतामा लिखित सहमति गरेरमात्रै सरकारमा जाने भन्दै आएका छौं । शुक्रबार लिखित सहमति हुन नसकेकाले सरकारमा गएनौं ।’ याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

विशेष