'एनसीसी' बन्ने भएपछि 'एपेक्स'मा यसरी गरिएको थियो अनियमितता
काठमाडौं । बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन्।
एनसीसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले। यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगायतका अनियमितता गरे।
११ मंसिर ०७२ मा एनसीसी र एपेक्स मर्जरमा जाने सम्झौता भएको थियो। ०७३ पुस १७ मा एकीकृत कारोबार सुरु गर्नुअघिसम्म एपेक्सले २ अर्ब ३ करोड ७४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ।
तर, यसमध्ये अनियमित रूपमा जारी गरिएको १ अर्ब ५० करोड ९६ लाख लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बैंकलाई नोक्सानी भएको छ। मर्जर सम्झौतापछि कुनै पनि बैंकले ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी दिनुपर्ने हुन्छ।
तर, एपेक्सले करिब १ सय ५० वटा फाइलमार्फत प्रतिकारोबार ५० लाख नकटाई कर्जा प्रवाह गर्यो र त्यसको कुनै पनि जानकारी मर्जर समितिलाई दिएन। १७ पुस ०७३ मा एपेक्ससँगै इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक पनि एनसीसीमा मर्ज भएका थिए।
मर्जरअघि एपेक्समा भएको खराब कर्जाबारे जानकारी नभएको एनसीसी बैंकको भनाइ छ। एकीकृत कारोबार सुरु भएपछि एनसीसी बैंकले माघमा दोस्रो त्रैमासिकको वित्तीय विवरण बनाउन सुरु गर्दा एपेक्सको ‘फर्जरी’ खुल्न थाल्यो।
एनसीसीले गुहारेपछि राष्ट्र बैंकले टोली पठाएर १ सय ७० फाइलको अनुसन्धान गर्यो। त्यसमध्ये करिब १ सय ३० फाइलबाट ठगी गरिएको थियो। ठगीमा एपेक्सका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको पाइएको छ।
ठगी आरोपमा प्रहरीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन्।
त्यस्तै, एपेक्सका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर न्यौपाने र कर्जा अधिकृत मोहन खरेल छन्।
प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो । याे खबर अाजककाे नयाँ पत्रिकामा छ ।