News राजनीति

मोबाइलमै अलमलिन्छन् सांसद

मोबाइलमै अलमलिन्छन् सांसद

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यूएस बंगला विमान दुर्घटनाका दिवंगतप्रति शोक व्यक्त गर्न मौनधारण चलिरहेको थियो । त्यति नै बेला कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको मोबाइलको घन्टी बज्न थाल्यो ।

 

उनले फोन काटे तर पनि बज्न छाडेन । प्रधानमन्त्री केपी ओलीले संसद्लाई सरकारले दुर्घटनाका घाइतेको उद्धार र उपचारमा गरेको प्रगति सुनाइरहँदा पनि सत्तापक्ष र विपक्षी सांसदको मोबाइल बजिरहेकै थियो ।

 

कतिपय सांसद मोबाइलमै फेसबुक र अन्य अनलाइन साइट चलाइरहेका थिए । एमाले सांसद मुकुन्द न्यौपाने संसद् प्रवेश गरेदेखि अन्तिमसम्मै मोबाइलमै घोत्लिरहेका देखिन्थे । सभामुखको ठीक अघिल्लो भागमा रहेको सत्तापक्षको दोस्रो पंक्तिमा सुरेन्द्र पाण्डेसँगै बसेका थिए उनी ।

 

सँगै बसेका अरू सांसदको ध्यान पनि मोबाइलमै थियो । बैठक चलिरहँदा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले मोबाइलमा के देखे भनी हेर्न सँगै बसेका रवीन्द्र अधिकारी र पार्वत गुरुङबीच हानथाप नै चल्यो ।

 

शुक्रबारको बैठकका कार्यसूची प्रधानमन्त्रीबाट सार्वजनिक महत्त्वको वक्तव्य र उपसभामुख निर्वाचन थिए । तर, उपस्थित २ सय ६१ सांसदमध्ये सत्तापक्षकाको ध्यान को–को मन्त्री बन्दै छ भन्नेमा केन्द्रित थियो । उनीहरू मोबाइलमा यिनै विषयका समाचार हेर्न व्यस्त थिए । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

 

विशेष