News देश

सल्यानमा आगलागी, २ करोडभन्दा बढीको क्षति

सल्यानमा आगलागी, २ करोडभन्दा बढीको क्षति

सल्यान । सल्यानको बागचौर नगरपालिकाको वडा नम्बर ५ काे वांगेलाकुरी बजारमा आगलागीमा भएको छ । आगलागिबाट दुई करोड भन्दा बढीको क्षति भएको छ । शनिबार बेलुकी भएको आगलागीबाट ८ वटा पसल, एउटा घर र ३ वटा मोटरसाइकल खरानी भएका छन् ।

 

आगलागीबाट ३ वटा किराना पसल, २ वटा होटेल, एउटा सुन पसल, एउटा फेन्सी पसल र एउटा सिलाइ पसल जलेर नष्ट भएका प्रहरीले जनाएकाे छ । गलागीबाट लोक बहादुर केसी, अनुरुप केसी र जंगबहादुर चन्दको किराना पसल जलेर पसलमा भएको सबै सामान नष्ट भएको छ ।

 

किराना पसलमा भएको झण्डै १ करोड ४० लाख बराबरको सामान जलेको स्थानीय जनक घर्तिले बताए । यस्तै रतिभान सुनारको सुन पसलमा भएको ४५ लाख बराबरका सुनचाँदीका गरगहना र सामाग्री जलेका छन् ।

 

यस्तै, आगलागीबाट गोविन्द देवकोटाको फेन्सी पसलबाट १० लाख, इन्द्र बहादुर थापा र गोविन्द बुढाथोकीको होटेलबाट २० लाख तथा खुमराज परियारको सिलाइ पसलमा १० लाखको क्षति भएको छ ।

 

यस्तै थलराज बस्नेतको घर पनि जलेर खरानी भएको छ । घरमा रहेको धनमाल सरसामान गरगहना गरेर ९० लाख बराबरको क्षति भएको छ । यस्तै आगलागीबाट तिनवटा मोटरसाइकल समेत जलेका छन् ।

 

नेकपा एमाले कर्णाली प्रदेशका सचेतक तथा सल्यान १ का प्रदेश सभा सदस्य गुलावजंग शाह, वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीलगायतले आगलागी भएको वांगेलाकुरी बजारको स्थलगत अवलोकन गरेका छन् ।

 

उनीहरुले आगलागी पीडितलाई राहत सामाग्रीको अभाव हुन नदिनको लागि पहल गरिने बताए । भाँडोमा बेच्न राखेको पेट्रोलका कारण आगलागी भएको भनिए पनि प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

विशेष