१ सय २१ विद्यार्थी एसईईबाट वञ्चित
परीक्षा आवेदन फारम भरेकामध्ये रोल्पामा १ सय २१ परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरू परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ ।
शिक्षा नियमावलीअनुसार विद्यार्थीको विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा विभागले सेन्ट अप परीक्षा खारेज गर्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भए पनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।
जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताएअनुसार उनीहरू एसईई परीक्षामा सामेल हुन नपाउने भएका हन् । गत असारमा आवेदन फारम भरेका उनीहरू हाजिरी नपुगेकै कारण परीक्षामा सामेल हुन नसक्ने भएका छन् ।
रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी ३ हजार ५ सय ९२ परीक्षार्थी परीक्षामा सामेल हुँदै छन् ।
एक महिला केन्द्राध्यक्षसहित १८ केन्द्रमा परीक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय रोल्पाले बताएको छ ।