विदेश

​१ सय ८० देशमा अमेरिकी सेनाकाे मिसन

​१ सय ८० देशमा अमेरिकी सेनाकाे मिसन

गएको अक्टोबरमा नाइजरमा एउटा आक्रमणमा चार जना अमेरिकी सैनिक मारिए । अफ्रिकी देश माली र नाइजरको सीमामा एक अपरेशनमा रहेका बेला अमेरिकी सेनामाथि आक्रमण भएको थियो । अमेरिकाका लागि यो ठूलै झट्का थियो । पश्चिम अफ्रिकाको यो यस्तो क्षेत्र हो जहाँ कसैलाई थाहा थिएन कि अमेरिकी सेनाको मिसन चलिरहेको छ । 

विश्वकै शक्तिशाली देश मानिने अमेरिकाका दुई लाखभन्दा बढी सैनिक विश्वका एक सय ८० देशमा फैलिएका छन् । यीमध्ये केवल सात देशमा अमेरिकी सेना सक्रिय रुपमा सैन्य अभियानमा काम गरिरहेको छ । यो खुलासा ट्रम्प सरकारले अमेरिकी कंग्रेसलाई पठाएको गोप्य रिपोर्टबाट बाहिरिएको हो । यसलाई न्यूयोर्क टाइम्सले पनि प्रकाशन गरेको छ ।

 

अफगानिस्तान
अफगानिस्तानमा १३,३२९ अमेरिकी सैनिक रहेका छन् । ११ सेप्टेम्बर २००१ वाशिंगटन र न्यूयोर्कमा तालिबान र अल कायदाले गरेको भिषण आक्रमणपछि अमेरिकाले आफ्नो सैनिक अफगानिस्तान पठाएको हो । अमेरिकाले लामो समय तालिबानसँग युद्ध लड्नु पर्यो । तर अहिलेसम्म पनि उसको मिसन पूरा भएको छैन । विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकालाई अफगानिस्तानको लडाईँ सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ । अमेरिकालाई यहाँ अल कायदा, तालिबान, इस्लामिक स्टेट, तथा हक्कानी नेटवर्कले कडा चुनौती दिइरहेको छ । 

 

 

 

इराक
सद्दाम हुसेनको अन्त्यपछि इराकमा पनि अमेरिकी इस्लामिक स्टेटका लडाकुसँग लडिरहेको छ । सद्दाम हुसेन मारिएपछि इराक पूर्ण रुपमा अशान्त बनेको छ । इस्लामिक स्टेटका कारण देशमा हिंसा फैलिएको छ । इराकमा झण्डै ८ हजार अमेरिकी सेना भएको बताइन्छ । 

 

 

सिरिया 
सिरियामा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय सुरक्षा बलले सन् २०१७ मा लाखौँ नागरिकलाई चरमपन्थीको कब्जाबाट मुक्त गराएको थियो । इराक तथा सिरियामा रहेको चरमपन्थी समूहको कब्जा ९८ प्रतिशतले कम भएको छ ।

सिरियामा कतीमा पनि एक हजार पाँच सय अमेरिकी सैनिक रहेका छन् । सिरियामा ७ वर्षदेखि चलेको गृहयुद्ध अझै साम्य भएको छैन । पूर्वी शहर गुटामा अहिले पनि दिनहुँ सर्वसाधारणमाथि हमला भैरहेको छ । अर्कोतर्फ अमेरिकाको विपक्षमा दोस्रो पक्ष बनाएर रुस उभिएको छ । 

 

 

यमन
यमनमा पनि अमेरिकी सेनाको उपस्थिति रहेको छ । यहाँ पनि अल कायदाले आफ्नो हिंसात्मक गतिविधि मच्चाइरहेको छ । ट्रम्प सरकारले अमेरिकी कंग्रेसलाई पठाएको रिपोर्टका अनुसार यमनमा हुती विद्रोहीविरुद्धको अभियानमा रहेको साउदी अरबको मोर्चालाई अमेरिकी सेनाले सहयोग गरिरहेको छ । यो सहयोग सैन्य स्तरमा मात्रै नभएर जासुसी सूचनाको आदान–प्रदानको स्तरसम्म भएको बताइन्छ । 

 

 

सोमालिया
सोमालियामा झण्डै ३ सय अमेरिकी सेना रहेको बताइन्छ । सोमालियामा रहेको आतंकवादी संगठन अल शबाबविरुद्धको अभियानमा अमेरिकी सेना रहेको छ । सन् १९९३ मा सोमालियामा अमेरिकी सेनाले नमिठो अनुभव भोगेको छ । मोहम्मद फराह अइदीदलाई समात्न गरिएको अभियानमा १८ जना अमेरिकी सैनिक मारिएका थिए । यसबाट यो थाहा हुन्छ कि सोमालियामा सैन्य अभियान चलाउन अमेरिकालाई त्यति सहज अवस्था रहेको छैन ।

 

 

लिबिया
लिबियामा अमेरिकी सेनाको उपस्थिति न्यून संख्यामा रहको छ । यहाँ पनि अमेरिकी सेनाको सानो हिस्सा इस्लामिक स्टेटविरुद्धको लडाईँमा रहेको छ । लिबियामा गद्दाफी शासनको अन्यसँगै शान्ति खलबलिएको छ । 

 

 

नाइजर
नाइजरमा झण्डै पाँच सय अमेरिकी सैनिक रहेका छन् । अक्टोबर २०१७ मा चार अमेरिकी सैनिक मारिएपछि अमेरिकी सेना इस्लामिक स्टेटविरुद्धको कडा अभियानमा रहेको छ । अमेरिकामा नाइजरमा अमेरिकी सैनिकको उपस्थितिका बारेमा पनि पटक–पटक बहस भैरहेको छ । अमेरिकाका लागि पश्चिम अफ्रिकी देश नाइजरमा सैन्य अभियान चलाउनु एकदमै नयाँ कुरा थियो ।  

 

 

विशेष