एमालेबारे कांग्रेसी नेताको टिप्पणीः ५ वर्षपछि एमाले तेस्रो शक्तिमा खुम्चिनेछ (भिडियो)
कांग्रेस नेता भन्छन्: एमाले पनि माओवादीकै हालतमा पुग्छ
काठमाडौं । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नराम्रारी पछारिएको नेपाली कांग्रेसमा यतिबेला नेतृत्वको कडा आलोचनाका भइरहेको छ । पार्टी सभापति शेरबाहादुर देउवाले पार्टीलाई विधि–विधान अनुसार नचलाएकाले पराजय भोग्नु परेको भन्दै केही नेताहरुले आलोचना गर्दैआएका छन् ।
नवलपरासी जिल्ल्ला भने त्यस्तो हो, जहाँ नेपाली कांग्रेसले आफ्नो साख राम्ररी जोगायो । वाम गठबन्धनसँग बराबरी हैसियतमा राख्न सफल भयो नवलपरासी । यहीँका जिल्ला सभापति तथा प्रदेश नम्बर ४ का सांसद विष्णु लामिछानेसँग नेपालआजका लागि लोकेन्द्र भट्टले अन्तरवार्ता लिएका छन् ।
आधुनिक कांग्रेस निर्माणको पक्षमा धारणा राख्दैआएका विष्णु लामिछाने जिल्ला र प्रदेशकै प्रभावशाली नेता हुन् । अन्तरवार्ताको क्रममा उनले पार्टीको सुध्रिढीकरण र आगामी कार्यदिशाबारे खुलेर चर्चा गरे । ‘सबै एकजुट भएर लाग्नुको विकल्प छैन । केन्द्रदेखि स्थानीय तहसम्म सबैले आ—आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुपर्छ ।’
सबै तहमा नयाँ तरिकाले कार्यसमिति बनाउनुपर्ने उनले जोड दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अब पनि पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्न नसके महाधिवेशनबाट विकल्पको खोजी गरिने उनले बताएका छन् ।
एमालेको पनि माओवादी जस्तै हालत
०६४ मा तत्कालिन ए नेकपा माओवादीले आश्वासन बाँडे झैँ अहिले एमालेले आश्वासन बाँडिरहेको बताउँछन् लामिछाने । असम्भव र अस्वभाविक आश्वासन मात्र बाँडेर पहिलो पार्टी भए पनि आफ्नो घोषणपत्रमा भएका सिमित कुरा पनि पूरा हुनेमा लामिछानेले आशंका गरे । एमालेले अहिले बाँडेका सम्बृद्धिका सपना सकार गर्न नसकेको खण्डमा माओवादीको जस्तै हालत हुने उनको ठोकुवा छ ।
प्रदेश सरकार सञ्चालनमा वाम गठबन्धनले राम्रै संकेत देखाए पनि केन्द्रमा भने प्रधानमन्त्री केपी ओली निरंकुशता तिरको यात्रामा लागेको संकेत देखिएको लामिछाने बताउँछन् । यद्यपि संसदमा भने आफूहरु रचनात्मक प्रतिपक्षीको रुपमा रहने लामिछानेले बताए ।
कलाकारिताबाट राजनीति
लामिछाने नेतासँगै एक सफल कलाकार र पत्रकार पनि हुन् । नाट्य अभिनयमा उनको खास दख्खल छ । उनले सिकाएका थुप्रै कलाकार अहिले केन्द्रमै स्थापित छन् । पत्रकारितामा पनि वर्षौँ बिताएका उनी पछिल्लो समय भने पूर्णकालिन राजनीतिज्ञ हुन् ।
राजनीतिमा सक्रिय र ब्यस्त उनी अभिनय र पत्रकारिताका पुराना दिन सम्झेरै खुसी हुने बताउँछन् । उनी भन्छन्, ‘कालाकारिता सिकाएका व्यक्तिले गरेको प्रगति हेरेरै खुसी लाग्छ अहिले ।’
विष्णु लामिछाने