हरेक दिन ६० हजार पैदलयात्रु ओहोर–दोहोर गर्ने सडकमा किन बनेन आकासे पुल ? (फोटोफिचर)
चन्द्र राई
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र अति ब्यस्त स्थान हो । बानेश्वर चोकमा दिनहुँ दशौं हजार सवारी साधन हुइकिन्छन् । यहाँ आम पैदलयात्रुको लागि जेब्रा क्रसिङ पनि छ । तर अव्यवस्थित ।
केही महिनाअघि निकालिएको एक तथ्यांकअनुसार बानेश्वर चोकछेउको जेब्रा क्रसिङमा हरेक दिन ६० हजार भन्दा बढी यात्रु ओहोर–दोहोर गर्छन् । तपाईँ यहाँ पुग्नुभयो भने पक्कै पनि केही बेर सडकछेउमा रोकिनै पर्छ ।
ब्यस्त सडकमा दगुरिरहने सवारीको भीडमा पैदलयात्रुका लागि भने आकासे पुल त छैन नै, जेब्रा क्रसिङ पनि व्यवस्थित र सुरक्षित छैन । मेटिनै लागेको जेब्रा क्रसिङ छ । जहाँ क्रस गर्न हरेक पैदलयात्रुले कम्तिमा ५ मिनेट पर्खनै पर्ने हुन्छ ।
र सडक पार गर्ने बेला सयौं यात्रुको भीड हुन्छ । यतिसम्म कि, सडक पार गर्दा एकअर्काबीच ठोक्किने खतरा समेत हुन्छ । कैयौँ पटक यात्रुहरु बाटो क्रस गर्ने क्रममा शरीर र टाउको ठोक्किने गरेको छ ।
बनेश्वर चोकमा अत्याधिक भीड हुने भएपछि केही वर्षअघि आकासे पुल निर्माणको पहल पनि भएको थियो । माधव कुमार नेपाल प्रधानमन्त्री छँदा आकासे पुलको उनले शिलान्यास समेत गरेका थिए ।
माधव कुमारले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ६ पटक सरकार परिवर्तन भइसक्यो तर बानेश्वरको आकासे पुल अझै निर्माण भएन । उदेक लाग्दो त के भने, नयाँ बानेश्वर चोक भन्दा उत्तरतर्फ वीरेन्द्र सम्मेलनकेन्द्रको पूर्वी गेट अगाडि भने एउटा सानो आकासे पुल बनाइएको छ । जहाँ पैदल यात्रु नै हुँदैनन् ।
नयाँ आकासे पुलको मुन्तिर भएर दैनिक यात्रुहरु हिँड्छन् । यही बाटो भएर हिँड्दे थुप्रै यात्रुहरुको एउटै गुनासो छ, ‘मान्छे भएको ठाउँमा आकासे पुल छैन, मान्छे नभएको ठाउँमा छ ।’