News राजनीति

कांग्रेसमा ‘गुटतन्त्र’ अन्त्य गर्न जिल्ला कोषाध्यक्षहरूले यस्ताे दिदैँ छन् दबाब

कांग्रेसमा ‘गुटतन्त्र’ अन्त्य गर्न जिल्ला कोषाध्यक्षहरूले यस्ताे दिदैँ छन् दबाब

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप–प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब दिने भएका छन् ।

 

नुवाकोटमा चैत ७ र ८ मा हुने जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा कांग्रेस शुद्धीकरणका लागि भन्दै उनीहरूले शीर्ष नेतृत्वबाट आ–आफ्नो स्वार्थसिद्धिका लागि खोलिएका गुट अन्त्य गर्न दबाब कार्यक्रम बनाएका हुन् ।

 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खडका, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरूलाई गुट अन्त्यका लागि सामूहिक दबाब दिने तयारी कोषाध्यक्षहरूको छ ।

 

यी सबै नेताले पार्टी्भित्र आ–आफ्ना गुट सञ्चालन गर्दै आएका छन् । भेलामा शीर्ष नेतृत्वसहित पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरूलाई समेत आमन्त्रण गरिएको छ ।

 

‘निर्वाचनमा पार्टी पराजय हुनुको मुख्य कारण नै पार्टीभित्र अस्वस्थ ढंगले मौलाएको गुटतन्त्र हो भन्ने हाम्रो ठहर छ,’ कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसको अन्त्य नगरी पार्टी अघि बढ्न सक्दैन ।’

 

कांग्रेस नेता अर्जुननरसिंह केसीले भेलामा नेतृत्वको कमीकमजोरीबारे निर्मम समीक्षा गर्न सुझाए । केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सुदृढीकरणका लागि आफूहरूले थालेको अभियानको आवाज कोषाध्यक्ष भेलामा प्रकट हुने बताए ।,याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

विशेष