News विदेश मुख्य समाचार

रुसी राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

रुसी राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

काठमाडौं । रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा पुटिन धेरै मतअन्तरले विजयी भएका हुन् ।

 

विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका बीबीसीले जनाएको छ । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहनेछन् ।

 

अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए ।

 

पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

 

तर, मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई भने चुनावमा भाग लिनबाट रोक लगाइएको थियो । उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २००४ मा दोस्रो पटक निर्वाचित भए ।

 

रुसको संविधानमा लगातार दुई वर्षभन्दा बढी राष्ट्रपति पदमा बहाल रहने व्यवस्था नभएका कारण उनी सन् २००८ मा भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार हुन वञ्चित रहे ।

 

तर पनि उनी तत्कालिन राष्ट्रपति डिमित्री मेडभेदेव नेतृत्वको सरकारमा प्रधानमन्त्री बनेर शक्ति मै रहन सफल भए । सन् २०१२ मा पुटिन तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए । आइतबार सम्पन्न निर्वाचनमा जित हासिल गरेसँगै पुटिनलाई चौथो कार्यकालका लागि बाटो खुलेको छ 

 

प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।

 

विशेष