News मुख्य समाचार अर्थ

अपर तामाकोसी र कुलेखानी ढिलाइ गर्नेलाई कारबाहीको तयारी

मन्त्री पुन कारबाहीको लागि हिसाबकिताब खाेज्दै

अपर तामाकोसी र कुलेखानी ढिलाइ गर्नेलाई कारबाहीको तयारी

काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोकाे निर्माणमा ढिलाइ गर्नेलाई कारबाही गर्ने तयारी गरेका छन् ।

 

सोमबार नेपाल विद्युत् प्राधिकरणमा भएको एक कार्यक्रममा मन्त्री पुनले ढिला गर्नेको अनुसन्धान भइरहेको  भन्दै उनीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

 

मन्त्री पुनले भने,‘राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोको काममा भइरहेको ढिलाइका विषयमा अनुसन्धान भइरहेको छ,’ ‘कसलाई के गर्नुपर्ने हो त्यसको पनि हिसाबकिताब भइरहेको छ ।’

 

अब प्राधिकरणअन्तर्गतका कुनै पनि आयोजना तथा परियोजना तोकिएको समयमै सम्पन्न नगर्ने, नगराउनेलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्ने उनले बताए ।

 

मन्त्री पुनले भने , अर्थमन्त्री भएको वेलादेखि कुलेखानी १ वर्षभित्र सम्पन्न हुन्छ भनेर हामी प्रधानमन्त्रीसहितको टोली भ्रमणमा गएका थियौँ । तर, अहिलेसम्म सम्पन्न नहुनुमा निहित स्वार्थसहित कसैको हात रहेको छ ।’ अब कुनै पनि बहाना नचल्ने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने उनले बताए ।

 

४० वर्षभित्र नेपाललाई ५० हजार मेगावाट विद्युत् आवश्यकता पर्ने र उत्पादन सम्भव पनि भएको उनको भनाइ छ । ताकाकोसीमा हाइड्रो मेकानिकलको काम गरिरहेको भारतीय ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ ।

 

आगामी आर्थिक वर्षदेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्न आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्योअनुसार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काम नगर्दा तामाकोसीको काम समयमै सकाउन कठिन हुँदै गएको हो ।

 

१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्ने मन्त्री पुनले बताए । त्यस्तै देशले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न ऊर्जा मन्त्रालय मेरुदण्ड भएका कारण अब ठूला जलविद्युत् आयोजनाहरूमा लगानी बढाउनु पर्नेमा जाेड दिए ।

विशेष