'लागूऔषध तस्करलार्इ मृत्युदण्ड'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लागूऔषध तस्करहरूलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन्।
'ओपीओईड' भनिने एक प्रकारको नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित राज्य न्यू ह्याम्पसायरमा भएको एक कार्यक्रममा ट्रम्पले आफ्ना योजनाबारे उल्लेख गरेका हुन्।
लागूऔषध तस्करहरूलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि कानुनमा परिवर्तन ल्याउन प्रशासनले प्रयत्न गरिरहेको उनले बताए।
तर, अझै कडा राजनीतिक र न्यायिक प्रतिरोधको सामना गर्नुपर्ने ट्रम्पको भनाइ छ। तर ट्रम्पको प्रस्तावप्रति अमेरिकी कंग्रेसका केही सदस्यहरूले विरोध जनाउँदै आएका छन्।
औषधि निर्माण कम्पनीहरूलाई जवाफदेही बनाउनुपर्ने भन्दै राष्ट्रपति ट्रम्पले दुखाइ कम गर्ने औषधि धेरै कडा बनाउन नहुने बताए। उनले ओपीओईडसँग सम्बन्धित संकटसँग जुझ्न ६ अर्ब डलर खर्च गर्न चाहेको बताए।
करिब २४ लाख अमेरिकीहरू लागूऔषध दुर्व्यसनी रहेको अनुमान छ।