News

चाकु 'ए' काे काम ९५ प्रतिशत सकियाे, तार जाेड्न मात्र बाँकी

चाकु 'ए' काे काम ९५ प्रतिशत सकियाे, तार जाेड्न मात्र बाँकी

निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । 



निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताए । 



चाकु बजारबाट २० किमि माथि रहेको सो आयोजनाको कुल लागत रु तीन अर्ब रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै रु चार अर्ब पुगेको छ । 



विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ ।

 

साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिकाअन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्वारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत गृहमा पानी खसालिनेछ ।

 

आयोजनास्थलदेखि लामोसाँघुस्थित सबस्टेशनसम्मको २२ किमी प्रसारण लाइनद्वारा केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रसारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 



उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । रु ६ अर्बको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए ।

विशेष