रसिया विश्वकप नजिते फुुटबलबाट सदाका लागि सन्यास लिन्छु : मेसी
विश्व चर्चित अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनेल मेसीले विश्वकप फुटबलमा उपाधि जित्ने चुनौती सर्वाधिक धेरै मात्रमा अर्जेन्टिनालाई रहेको बताएका छन्।
व्वासायिक खेल जीवनमा सफल खेलाडी मानिए पनि राष्ट्रिय टिमबाट उल्लेख्य सफलता दिलाउन नसकेका स्टार खेलाडी लियोनल मेसीले रसिया विश्वकपको उपाधि सर्वाधिक धेरै मात्रामा अर्जेन्टिनाका लागि अत्यावश्यक रहेको भन्दै उपाधि नजिते राष्ट्रिय टिममा बसिरहनुको अर्थ नहुने बताएका छन्।
क्लब फुटबलमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएका मेसीले राष्ट्रिय टिमबाट भने ठूलो उपाधि जित्न नसक्दा आलोचना खेप्दै अाएका छन् । यद्यपि, विश्वकपको उपाधि नजिते पनि टिमलाई फाइनलसम्म पुर्याएका उनले अब फाइनल जित्ने चुनौती पूरा नगरे राष्ट्रिय टिममा बसिरहनुको अर्थ नहुने भन्दै उपाधि नजिते सन्यास लिनेतर्फ संकेत गरे।
२०१४ मा ब्रजिलमा भएको विश्वकपमा फाइनलमा पुगेर जर्मनीसँग १–0 शून्यले हारेपछि मेसीले अप्रत्यासित रूपमा संन्यासको घोषणा गरेका थिए। तर चौतर्फी दबाब बढेपछि मेसीले केही महिनामै संन्यास घोषणा फिर्ता गर्दै पुनः राष्ट्रिय टिममा फर्किएका थिए।
अर्जेन्टिना दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पुगेर तीनपटक पराजित भइसकेकाे छ। जसका कारण पनि मेसीमाथि दबाब थप बढेको छ।
मेसीले एक अमेरिकी सञ्चारमाध्यमसँग अन्तरवार्ता दिँदै भनेका छन्, ‘यदि रसिया विश्वकपको उपाधि अर्जेन्टिनाले जित्न सकेन भने राष्ट्रिय टिममा बस्नु ठिक नहुने मलाई लाग्छ। तर, फेरि पनि मलाई विश्वास छ। यसपटक विश्वकपको उपाधि अर्जेन्टिनाले जित्नेछ।’
मेसीले राष्ट्रिय टिमको जर्सीबाट एक सय २३ क्याप जितेका छन। जसमा उनले ६१ गोल गरिसकेका छन्। अर्जेन्टिना विश्वकपको समूह 'डी' मा रहेको छ। सो समूहमा अर्जेन्टिनाले आइस्ल्याण्ड, क्रोएसिया र नाइजेरियासँग खेल्नेछ।