News

हाडनाता सम्बन्धले कृष्णसार संकटमा

हाडनाता सम्बन्धले कृष्णसार संकटमा

गुलरिया । एकै प्रजाति र वंशभित्रको प्रजननका कारण लोपोन्मुख वन्यजन्तु कृष्णसारमा प्राकृतिक गुण हराउन थालेको छ।

 

बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुर संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा पाइने कृष्णसारमा दशकौंदेखि एकै प्रजातिभित्र संसर्ग (इनब्रिडिङ) भइरहँदा प्राकृतिक गुण हराउँदै गएको हो।

 

संरक्षित सूचीमा रहेको कृष्णसारको यस्तो संसर्ग पछिल्लो समय जटिल चुनौतीका रूपमा देखिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख पुरुषोत्तम शर्माले बताए। नयाँ कृष्णसारमा प्राकृतिकपन हराउँदै गएको उनले बताए।

 

विश्वमा पाइने चार प्रकारमध्ये बर्दियामा एन्टिलोप सर्भिक्याप्रा रुपिक्याप्रा प्रजातिका कृष्णसार पाइन्छन्। शर्माले बर्दियाका कृष्णसार ०३२ देखि नै एकैखाले संसर्गमा रहेको प्रस्ट्याए।

 

यस्तो संसर्गबाट जन्मिएका कृष्णसार महामारीजन्य रोग लागेमा सखाप हुन सक्ने खतरा रहने उनी बताउँछन्। उनले भने, ‘वैशाख, जेठको टन्टलापुर घाममा पनि खुलाचौरमा बस्न सक्ने यसको प्राकृतिक गुण हो।

 

कृष्णसारको पोथीमा सिङ हुँदैन, तर खैरापुरमा अवस्थित पोथी कृष्णसारमा यी प्राकृतिकपन हराएको छ।’ पछिल्लो समय कृष्णसारका सन्तानमा अपांगता, आकारमा फरक र रोग प्रतिरोधात्मक क्षमता कमी देखिएको छ।

 

एकै प्रजातिभित्रको संसर्ग वैज्ञानिक दृष्टिले पनि खतरनाक मानिन्छ। शर्माले थपे, ‘एउटा क्षेत्रमा भएका कृष्णसारलाई अर्को क्षेत्रकासँग संसर्ग गराउनुपर्ने आवश्यकता बढ्न थालेको छ।’

 

नेपालका कृष्णसारलाई भारतका कृष्णसारसँग संसर्ग गराउन सके यिनीहरूको दीर्घकालीन रूपमा आनुवांशिक संरक्षण हुने उनी बताउँछन्।

 

उनले भने, ‘बर्दियामा पाइनेबाहेक अन्य तीन वटामध्येको कुनै एक प्रजातिलाई संरक्षण क्षेत्रमा ल्याएर संसर्ग गराउनु जरुरी छ।’ याे खबर अाजकाे अन्नपूर्ण पोस्टामा छ ।

विशेष