तीन राप्रपाका नेतासँग पूर्वराजाको छलफल, नेताहरूले भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्यो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् ।
राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्यद्वय भास्कर भद्रा र प्रह्लाद शाह, राप्रपा प्रजातान्त्रिकबाट महामन्त्री राजाराम श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय सुरेश आचार्य र सगुन लावती, राप्रपा राष्ट्रवादीका नेताहरू केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुषमा आचार्य छलफलमा सहभागी थिए ।
आइतबार साँझ झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा पूर्वराजा शाहले तीनवटा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि आफ्नै स्वामित्वको उक्त चिया बगानमा रहेका शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए ।
पार्टी एकीकरण गर्न सुझाब
राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए । ‘म तपाईंहरूका पार्टीको संरक्षक पनि होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाईंहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,’
पूर्वराजाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी राप्रपा केन्द्रीय सदस्य शाहले भने, ‘त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपार्इंहरू अगाडि बढ्दा उपयुक्त हुन्छ ।’
अदृश्य रूपमा संरक्षकत्व दिन तयार छु : पूर्वराजा
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् ।
पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ । चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए ।
ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो ।
‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताए ।’
तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उनको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भने। उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’
अझै केही दिन झापामै बस्ने
पूर्वराजा शाह अझै केही दिन झापामै रहनेछन् । ११ चैतमा विराटनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उनीनिकट स्रोतले बतायो । त्यसबाहेक उनले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरूसँग पनि राजनीतिक भेटवार्ता गरिरहेका छन् ।
निरन्तर राजनीतिक भेटघाटमा
शाहको राजनीतिक भेट यो पहिलो भने होइन । उनले यसअघि माघमा करिब १५ दिनजति नेपालगन्जमा रहँदा त्यहाँका पुराना राजावादी नेताहरूसँग पनि छलफल गरेका थिए ।
त्यतिखेर राप्रपा अध्यक्ष कमल थापालाई काठमाडौंबाट बोलाएर नेपालगन्जमै छलफल गरेका थिए । नेपालगन्जबाट सीधै भारत भ्रमणमा निस्किएका उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग पनि भेट गरेका थिए ।
उनीनिकट स्रोतले आदित्यनाथसँगको भेटमा ‘अब आफूले राजनीतिमा सहभागिता जनाउने या अदृश्य रहेर कुनै पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा सुझाब मागेको’ दाबी गर्छन् । तर, शाहले आफैँ पार्टीको नेतृत्व गर्ने या अदृश्य भूमिकामा रहेर राजनीतिक सक्रियता बढाउने भन्ने निश्चित गरिसकेका छैनन् । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।