कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार, एक जनाकाे मृत्यु
कैलाली । कैलालीमा होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति होली खेलिरहेका बेला अज्ञात समूहकाे छूरा प्रहारबाट टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका अनुसार उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।