सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच ११ बजे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्दैछन् ।
प्रदेश सरकार सञ्चालनमा देखिएको कानुनी तथा प्राविधिक समस्या सहजीकरण गर्नका लागि प्रधानमन्त्री अाेलीले सातै प्रदेशमा मुख्यमन्त्रीसहित उच्च अधिकारी काठमाडौं बाेलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको निम्तोमा प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारी काठमाडौं आइपुगेको र अहिले बिहान ११ बजे छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्रीले उनीहरुसँग सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने बताइएको छ । प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी अभावसमेत उत्तिकै देखिएको छ ।
खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ । सातै प्रदेशमा प्रदेश सरकार गठन भइसके पनि स्रोत साधन र ऐन कानूनको अभावमा रुमल्लिएका छन् ।
मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय मन्त्रीलाई दिने गाडीसमेत छैन । यही समस्याका बीच बुधबार हुन लागेको छलफलले जारी अन्योलता हल गर्ने विश्वास गरिएको छ ।