फ्रि भिसा फ्रि टिकट हटाउन श्रममन्त्री विष्टलार्इ व्यवसायी संघका अध्यक्षकाे आग्रह
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले फ्रि भिसा फ्रि टिकटको व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बधाई र शुभकामना दिन संघले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
म्यानपावर व्यवसायीले चाहेर पनि फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न नसक्ने उनको भनाई छ । फ्रि भिसा फ्रि टिकटको निर्णय अवैधानिक रहेको दावी गर्दै गुरुङले यो व्यवस्था पुनरावलोकन गर्न श्रमिक पठाउने अरु देशका अभ्यास हेर्न पनि आग्रह गरे ।
गुरुङले वैदेशिक रोजगारीमा जानेलाई सुलभ र सुरक्षित रुपले पठाउन पहल गरेपनि केही मानिसका पूर्वाग्रहको कारण पूरा हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै गुरुङले स्वास्थ्य परीक्षणका नाममा साउदी अरब, ओमान र बहराइन जाने एक लाख भन्दा धेरै युवा मार्च १ देखि जान रोकिएको जानकारी दिए ।
स्वास्थ्य परीक्षणको नाममा भइरहेका सिण्डिकेटको अन्त्य गर्न पनि उहाँले मन्त्री विष्टसित आग्रह गरे ।