News सफलताको कथा

बेमाैसमी हाइब्रिड जातकाे मकैबाट बाँकेमा तीन गुणा उत्पादन

बेमाैसमी हाइब्रिड जातकाे मकैबाट बाँकेमा तीन गुणा उत्पादन

बैमौसमी मकै खेती गरेर बाँकेका किसानहरु राम्रो आम्दानी गर्न सफल भएका छन्।

 

वर्षे सिजनमा लगाइने स्थानीय जातको मकैभन्दा हिउँदे सिजनमा लगाइने हाइब्रिड जातको मकैबाट तीन गुणासम्म बढी उत्पादन हुन थालेपछि किसानहरुमा बैमौसमी मकै खेतीतर्फ आकर्षण बढेको हो।

 

हिउँदे सिजनमा गहुँ, मसुरो र तोरी खेती गर्दै आएका किसानले हाइब्रिड जातको मकै खेती गरेर अन्य हिउँदे बालीको तुलनामा तीन गुणासम्म फाइदा गर्न सफल भएका छन्। किसानहरुले मकैको हरियो घोगा ५ देखि १० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। 

 

गत वर्ष मकैको हरियो घोगा बिक्री गरे किसानले ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरेका थिए। हिउँदे सिजनमा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुने थालेपछि किसान हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएको बाँके पुरैनीका इब्राहिम खाँले बताए।

 

उनले ३८ कठ्ठामा बेमौसमी मकै खेती गरेका छन्। मकैको घोगा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि बेमौसमी खेती गर्न थालेको उनले बताए।

 

नेपालगन्ज, कोहलपुर लगायतका सहरी क्षेत्रबाट हरियो मकै किन्न व्यापारीहरु किसानको खेतबारीसम्मै पुग्ने गरेका छन्। बाँकेमा करिब १ हजार ५ सय हेक्टरमा बेमौसमी मकै खेती हुँदै आएको छ।

 

बाँकेलाई मकै खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्न नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामार्फत मकै सुपरजोन क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ।

 

परियोजनामार्फत मकै खेती गर्ने किसानहरुलाई उन्नत बिउ, मलखाद र सिँचाइका लागि अनुदान कार्यक्रमहरु सञ्चालन गरिएको परियोजनाका कृषि अधिकृत शकिल अहमद खाँले बताए। 

 

मकै बालीलाई तयार हुन १ सय १५ देखि १ सय ३० दिनसम्म लाग्छ। बाँकेमा प्रतिहेक्टर ८ देखि १० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ।

 

नेपालमा करिब ९ लाख २८ हजार ७६१ हेक्टर जमिनमा मकै खेती गरिन्छ। नेपालमा बर्सेनि करिब २३ मेट्रिक टन मकै उत्पादन हुन्छ। 

 

अन्य मुलुकको तुलनामा नेपालमा मकैको औसत उत्पादन निक्कै कम छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा मकैको औसत उत्पादन २.४६ टन प्रतिहेक्टर रहेको छ। 

 

उन्नत बिउ प्रविधि, सिँचाइ, मलखादको व्यवस्थापन गर्न सक्ने हो भने मकैको औसत उत्पादन वृद्धि गर्न सक्ने प्रशस्तै सम्भावना रहेको छ। मकैबालीले कृषि क्षेत्रको कुल ग्रार्हस्थ उत्पादनमा करिब ६.८८ प्रतिशत  हिस्सा ओगटेको छ।

 

नेपालीले प्रयोग गर्ने मुख्य खाद्यान्नमध्ये करिब २६ प्रतिशत हिस्सा मकैले ओगटेको छ।

विशेष