विदेश खेल

हिटलरकाे अाेलम्पिकजस्ताे पुटिनकाे विश्वकप : बेलायती राजनीतिज्ञ

हिटलरकाे अाेलम्पिकजस्ताे पुटिनकाे विश्वकप :  बेलायती राजनीतिज्ञ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकप फुटबल २०१८ को प्रचार हिट्लरले सन् १९३६ को बर्लिन ओलम्पिककमा गरेजस्ताे गरी गरिरहेको बेलायती राजनीतिज्ञले आरोप लगाएका छन् ।

 

पुटिनले आफ्नो भ्रष्ट शासनमा विश्वकप फुटबलको चमक लगाउन चाहेको बेलायाती विदेशमन्त्री बोरिस जोनसनले लगाएका छन् ।

 

लेबर पार्टीका सांसद इयान अस्टिनले रुसी राष्ट्रपति पुटिन आफ्नो भ्रष्ट शासनमाथि विश्वकपको चमकदार लेप लगाउने योजनामा रहेको बताएका थिए । विदेशमन्त्री जोनसनले अस्टिन पूर्ण रुपमा सही रहेको बताएका हुन् ।

 

विदेशमन्त्री जोनसनले तत्काल रुससँग आउँदो जुनमा हुने विश्वकप फुटबलमा दर्शक समर्थकको सुरक्षाका विषयमा छलफल गर्ने बताएका छन् ।

 

पछिल्लो समय बेलायत र रुस बिचको सम्बन्धमा ओसिलोपन बढेको छ । दुवै देशले आफ्नो देशमा रहेका एक अर्काकाका कुटनीतिज्ञलाई फिर्ता लैजान भनेका छन् ।

 

रुसका पूर्वगुप्तचर कर्मचारी र उनी छोरीलाई बेलायतमा विष दिएपछि सम्बन्ध बिग्रिन थालेको हो । बेलायतले अहिले अस्पतालमा उपचाररत दुवै जनालाई रुसले नै विष दिएको आरोप लगाउँदै आएको छ भने रुसले अस्वीकार गरेको छ ।

 

तर यसले सम्बन्ध भने बिग्रिँदै गएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप हेर्न अहिलेसम्म २४ हजार बेलायतीले निवेदन दिएको र उनीहरुको सुरक्षालाई लिएर बेलायत सरकार चनाखो रहेको बीबीसीले उल्लेख गरेको छ ।

 

पुटिन यसै साता मात्रै चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका बेला बेलायतले उनीमाथि विश्वकप फुटबललाई आफ्नो खराब शासनमा राम्रोको जलप लगाउने माध्यम बनाएको भन्ने आरोप लगाएको हो । रुसले भने बेलायतको आरोप घृणाको उपज रहेको बताएको छ ।

विशेष