पुनः गठन भएका मन्त्रालयकाे संरचना तयार पारिँदै
कर्मचारी कटाैती हुन सक्ने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ। पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए।
सांगठनिक स्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समितिसमेत गठन गरिएको छ। जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहेका छन् ।
उनका अनुसार समितिले कामसमेत थालिसकेको छ। समितिले मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुप तयार पार्नुको साथै ती मन्त्रालयमा आवश्यक कर्मचारीको पनि संख्या यकिन गर्ने सहसचिव न्यौपानेले बताए।
‘समितिले बनाएको आधारमा मन्त्रालयका नयाँ सांगठनिक स्वरुप तयार हुन्छ,’ उनले भने, 'मन्त्रालयमा अहिलेको तुलनामा कर्मचारी थपघट हुन सक्छन् ।’ समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ।
सरकारले ३१ वटा मन्त्रालयबाट पुनर्गठन गरेर हाल २० मन्त्रालय कायम गरेको छ।