जुम्ला स्पाेर्ट्स सिटीकाे रूपमा विकसित हुने
विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ।
सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ। तयार गरिएको डिपिआर राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए।
'विस्तृत अध्ययन प्रतिवेदनअनुसार लौठचौरमा कर्णाली ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न रु १७ करोड लाग्ने अनुमान गरिएको छ,' उनले भने, 'आवश्यक बजेट विनियोजनका लागि राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालय दुवैमा पहल भइरहेको छ।'
यतिबेला कभर्डहलको बाँकी कामका लागि युवा तथा खेलकुद मन्त्रालयलबाट रु २५ लाख विनियोजन भइसकेको छ। उनका अनुसार निर्माण गरिने सेन्टर आवासगृह, अस्पताल लगायतको सेवा र सुविधायुक्त हुनेछ।
५५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त सेन्टर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको गन्तव्यस्थल बन्ने खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपाने बताउँछन्। 'संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन, उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुनेछ,' उनले भने।
म्याराथुन धावक हरिबहादुर रोकाया अल्टिच्युडमा ट्रेनिङ गरेका खेलाडीले अन्तर्राष्ट्रियस्तरमै उत्कृष्टता हासिल गरेको बताउँछन्। कर्णालीलाई खेलकुद भूमिमा परिचित गराउन र नेपालकै नाम विश्वमा राख्न यो महत्वाकांक्षी गौरवको आयोजना अघि बढाइएको उनले बताए।
खेल पर्यटन प्रवर्द्धन
लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्नेछ। सेन्टर निर्माणबाट यहाँको खेल पर्यटन प्रवर्द्धन हुने र स्पोर्ट सिटीरूपमा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
सो कार्यका लागि स्थानीय समुदायलाई व्यवसाय सञ्चालनमा परिचालन, स्थानीयस्तरमा रोजगारीको सिर्जनाका साथै आयआर्जनमा सघाउ पुग्ने र राजश्वमा वृद्धि हुने पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा बताउँछन्।
संसारबाट आएका खेलाडीले खेलकुदमा भाग लिनाका साथै जुम्लाको तातोपानी पर्यटन विकास केन्द्र, तिलाको त्रिवेणी, चन्दननाथ मन्दिर, गिडी दह, पातारासी हिमाल, सिंजा सभ्याता, मुगुको राराताल र डोल्पाको से–फोक्सुण्डो तालको पनि अवलोकन गर्ने अवसर प्राप्त हुने उनको भनाइ छ।
गत पुस महिनामा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालसहितको चार सदस्यीय टोलीले सेन्टर र रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिक स्थिति अनुगमन गरेको थियो। टोलीले लौठचौरमा निर्माण हुने सेन्टरलाई ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ र जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामकरण गर्न सुझाएको थियो।
समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइमा रहेको उक्त स्थानमा निर्माण गरिने सो ट्रेनिङ सेन्टर कर्णाली प्रदेशको खेल जगतको गौरवको पूर्वाधार ठानिएको छ।