सिरियामा हवार्इ अाक्रमण, १६ जना छात्रछात्रासहित २० जनाकाे मृत्यु
सिरियाको उत्तरपश्चिमी सहर इदलिवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘इदलिव प्रान्तको काफर बातिख क्षेत्रमा भएको आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ।’
संस्थाका प्रमुख रामी अब्देल रहमानले पूर्व अलकायदा समूहका धेरै सदस्य रहेको जिहादी विद्रोही समूह हायत तहरिर अल–सामद्वारा नियन्त्रणमा लिएको सुरक्षा जाँच चौकी नजिकै भएको आक्रमण सिरियाली सरकारी फौज, रुसी पक्ष वा अन्य कुनै समूहले गराएकोबारे खुल्न नसकेको बताए।
स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीको घटनामा मृत्यु भएको अब्देल रहमानले जानकारी दिए। मृतक विद्यार्थीमध्ये सवैभन्दा बढी उमेरको बालक ११ बर्षका रहेको रहमानले स्थानीय स्रोतलाई उद्धृत गर्दै बताए।