News राजनीति

ईयू पर्यवेक्षक मिसन भन्छ, प्रतिवेदन परिवर्तन हुन्न, कार्यान्वयन गर्ने नगर्ने सरकारको हातमा

ईयू पर्यवेक्षक मिसन भन्छ,  प्रतिवेदन परिवर्तन हुन्न, कार्यान्वयन गर्ने नगर्ने सरकारको हातमा

काठमाडौं । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले नेपालको चुनावका बारेमा दिएको रिपोर्टमा सुधार गर्न अश्वीकार गरेको छ ।

 

ईयू निर्वाचन पर्यवेक्षण मिसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई पछ्याएर प्रतिवेदन तयार पारेको र सोही अनुसार सुझाव दिएकाले त्यसमा सुधार नहुने उल्लेख गरेको छ। आफूले तयार पारेको प्रतिवेदनबारे नेपालका अधिकारीहरूसँग व्यापक छलफल भएको ईयूले लेखेको छ ।

 

उसले आफूले निकालेका निष्कर्ष नेपालसँगको सम्झौता अनुसार नै भएको र यसलाई लागू गर्ने नगर्नेबारे नेपालको आन्तरिक कुरा भएको बताएको छ। ईयू मिसनले उक्त प्रतिवेदन र पछिल्ला घटनाक्रमबारे छलफल गर्न आफू तयार रहेको पनि उल्लेख गरेको छ ।

 

ईयू को निर्वाचन पर्यवेक्षण मिसनले प्रदेश र प्रतिनिधिसभाबारे दिएको प्रतिवेदनप्रति सरकारले आपत्ती जनाउँदै विज्ञप्ति निकालेको थियो। त्यस्तै आयोगले आफूकहाँ पेश गरिएको ईयूको निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन पूर्ण रुपमा अश्वीकार गरेको थियो ।

 

परराष्ट्र मन्त्रालय र आयोगले ईयूको प्रतिवेदनले दुई पक्षबीच भएका सम्झौता उलंघन गरेको, नेपालको संविधान र निर्वाचन प्रणालीबारे अनावश्यक सुझाव दिएको र अन्तराष्ट्रिय मूल्य मान्यताको उलंघन गरेको भन्दै आपत्ती जनाएको थियो।

 

सरकार र आयोगको कडा विरोधपछि ईयूले आफूले पर्यवेक्षणको अन्तराष्ट्रिय मूल्य मान्यतामा रहेरै प्रतिवेदन तयार पारेको उल्लेख गरेको छ। ईयूले आफूले प्रशासनिक, कानुनी र संवैधानिक विषयमा आफ्नो मत राखेको उल्लेख गरेको छ।

विशेष