यस्ताे छ ‘एलियन’ अस्थीपञ्जरको रहस्य
१५ वर्ष अगाडी चिल्लीको ‘अटाकामा’ मरुभूमीमा पाइएको रहस्यमयी अस्थीपञ्जर तपाईँ हामीले देख्ने मानिस जस्तो देखिँदैन । खासमा यसलाई हेर्ने धेरैले ‘एलियन’ को अस्थीपञ्जर मान्दै आएका थिए ।
यो रहस्यात्मक अस्थीपञ्जरमा अनौंठो विशेषताहरु रहेका छन् । यसको उचाई ६ इन्च मात्र रहेको छ । प्रारम्भिक अनुमानले यो अस्थीपञ्जर ६ देखि ८ वर्ष उमेरको बच्चाको भएको मानिएको थियो ।
लाम्चो र कोणात्मक खप्पर, केही टेढो आँखाको खाल्टो र सामान्यभन्दा थोरै सङ्ख्यामा रहेको औंलाको सङ्ख्याले यसको रहस्यमा थप गहिरो बनाएको थियो ।
यसका सम्बन्धमा रहेका कयौं अनुत्तरित प्रश्नहरुले गर्दा केहीले यसलाई पहिले पत्ता नलागेको बाँदरको एक प्रजाती वा वाह्य ग्रहको जीव हो कि भन्ने सवाल उठाएका थिए ।
‘अटा’ नाम दिइएको यस अस्थिपञ्जरबारेमा टिभी शोहरु र एक वृत्तचित्र बनेको छ । ‘सिरियस’ नामक वृत्तचित्रमा वाह्य ग्रहका वस्तुका एक खोजकर्ताले ‘अटा’को उद्भव पत्ता लगाउने प्रयास गरेका छन् ।
अहिले पाँच वर्ष जिनोम विश्लेषणको आधारमा अध्ययन गरेका अनुसन्धानदाताहरुले यसको यथार्थ पत्ता लगाएका छन् । अनुसन्धानले ‘अटा’ मानवकै अस्थीपञ्जर भनेर पत्ता लगाएको छ, जुन जिनमै हड्डीको बहु विकार भएको मानिसको हो । बिहिबार ‘जिनोम रिसर्च’ जर्नलमा प्रकाशित लेखका लेखकहरुले यस अनुसन्धानले जिनमा आएको गडबढीको उपाचारमा सहयोग पुग्ने विश्वास गरेका छन् ।
‘अटा’को परिचय
सन् २००३ मा अटालाई चिल्लिको अटाकामा मरुभूमी माझ रहेको खानी शहर ‘ला नोरिया’मा भेटिएको थियो । यसलाई शुरुमा प्राचिन अस्थीपञ्जर मानिएको थियो । तर सन् २०१२ मा गरिएको विश्लेषणमा अस्थिपञ्जर ४० वर्षमा मात्र पुरानो रहेको पत्ता लाग्यो । यसको मतलब यसको डी.एन.ए. अझै क्रियाशील रहेको थियो र अध्ययनको लागि यसलाई प्रयोग गर्न सकिन्थ्यो ।
डी.एन.ए. अध्ययनले मात्र यसको सही अवस्था बताउन सक्थ्यो । यसको ‘बोन म्यारो’बाट संकलन गरिएको नमुनालाई यसको सम्पूर्ण जीनोमको श्रृङ्खला अध्ययन गर्नका लागि प्रयोग गरियो ।
यसलाई मानव र बादर प्रजातीका अरु जीवसँग पनि तुलना गरियो । अध्ययनले यो चिल्ली वंशजको स्त्री लिङ्गी मानव भएको पत्ता लगायो । प्रारम्भिक अनुमानले यसलाई ६ र ८ वर्ष बीचको मानव मानिएको भए पनि अध्ययनले यसलाई भ्रुण हुन सक्ने देखायो । सो भ्रुणलाई वास्तविक उमेर भन्दा छिट्टै बुढो देखिने हड्डीसम्बन्धी विरलै लाग्ने रोग लागेका अस्थीपञ्जर बढी उमेरको देखिएको पाइयो ।
शुरुमा यसको ८% डी.एन.ए. मानव डी.एन.ए.सँग मिलेन । अनुसन्धानकर्ताहरुले यो नमुनामा भएको मिसावटका कारण भएको निष्कर्ष निकाले । सुधारिएको विश्लेषणले यसको ९८% डी.एन.ए. मानव डी.एन.ए.सँग मिल्यो । अस्थीपञ्जरले गुजारेको विषम अवस्था र यसको आयुका कारणले शुरुमा डी.एन.ए. नमिलेको अनुसन्धानदाताले बताए ।